कट्वालको ईशारामा हतियार ल्याउने तयारी?

काठमाडौं – वर्तमान सरकारले शान्ति सम्झौता विपरित भारतबाट हतियार खरिद गर्न लागिएको भन्दै माओवादीले वर्तमान सरकारसँग आपत्ति जनाएको छ ।
 
रक्षामन्त्री विद्या भण्डारीको जारी भारत भ्रमणकाक्रममा हतियार आपूर्तिकालागि गरिएको आग्रह र भारतलेपनि हतियार आपूर्तिकालागि सकरात्मक रहेका जवाफ दिएपछि माओवादीले आपत्ति जनाएको हो ।
 
रक्षामन्त्री विद्या भण्डारीसँगको वार्तामा भारतीय रक्षामन्त्री एन के एन्टोनीले हतियारलगायत सैन्य सामाग्री आपूर्ति गर्न कुनै कठिनाई नभएको भनेको समाचार सार्वजनिक भएपछि माओवादी आक्रोसित बनेको हो । भारतीय रक्षामन्त्री एन्टोनीको निमन्त्रणा मान्न रक्षामन्त्री भण्डारी हतियार आपूर्ति लगायतका सेनाका माग बोकेर गएकी छन् । भारतीय समकक्षीसँग मंगलबार उनको कुराकानी भएको थियो ।
करिव ४५ मिनेट लामो भेटवार्तामा एन्टोनीले माघ १९ को कू पछि रोकिएको सैन्य सहायता निरन्तर गर्न बचन दिएका थिए ।
 
माओवादी विरुद्ध लड्न भारत सरकारले नेपाली सेनालाई त्यसअघि इन्सास राइफल, गोली गठ्ठालगायतका सैनिक सामाग्री दिँदै आएको थियो । माघ १९ को कदमपछि भने भारतले त्यो सहयोग रोकको थियो । रोकिएको त्यो सहायताकालागि अनुरोध गर्न प्रधानसेनापति रुक्माङ्गद कटवालले रक्षामन्त्री भण्डारीसँग आग्रह गरेका थिए ।
 
तत्कालिन सात दलीय सरकार र माओवादीबीच भएको वार्तामा कुनैपनि पक्षले थप भर्तिका साथै हात हतियारसमेत खरिद गर्न नहुने कुरा स्पष्टसँग उल्लेख गरिएको छ । सोही सम्झौता अनुसार दुबै पक्षले हात हतियार कतैबाट पनि ल्याउन पाउँदैनन् । सेना समायोजन भई नयाँ राष्ट्रिय सेनाको निर्माणका साथै शान्ति प्रकृया टुङ्गोमा पुगेपछिमात्र सिद्धान्तत राज्यले हतियार लगायतका सैन्य सामाग्री खरिद गर्न सक्छ ।
 
देशमा दुई सेना रहेको स्थितिमा कुनै पक्षले हतियार खरिद गर्दा अर्को पक्षका विरुद्ध युद्धको तैयारी गरेको अर्थ लाग्ने भएकाले शान्ति सम्झौतामा यस्तो प्रावधान राखिएको हो । आफू अनुकूलको रक्षामन्त्री भएको मौका पारेर प्रधानसेनापति रुक्माङ्गद कटवालले हतियार सुचारु गर्ने प्रकृया थाल्न रक्षामन्त्रीलाई भनेका थिए । शान्ति सम्झौता विपरित हतियार खरिद गर्न यसरी रक्षामन्त्रीले भारतीय पक्षसँग आग्रह गरेपछि र भारतीय रक्षामन्त्रीले त्यो सहयोग नरोकिने प्रतिकृया दिएपछि माओवादी आक्रोसित बनेको हो ।
 
समाचार सार्वजनिक भएलगत्तै माओवादी अध्यक्ष प्रचण्डले बुधबार विहान प्रधानमन्त्री माधब नेपाललाई फोन गरी हतियार ल्याउने विषयमा सहमति भएको बारेको समाचारप्रति ध्यानाकर्षण गराएका थिए । प्रचण्डले हतियार ल्याउने त्यस्तो सहमति भए त्यो आफ्नो दललाई मान्य नहुने चेतावनी दिएका थिए । ‘शान्ति सम्झौता विपरित हतियार ल्याइयो भने त्यसलाई शान्ति प्रकृया भाँड्ने योजनाको रुपमा बुझिनेछ’ प्रचण्डको भनाई थियो- ‘यदि त्यस्तो सहमति भएको हो भने त्यसलाई तत्काल रोकियोस् ।’
 
प्रधानमन्त्री नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई हतियार खरिद सम्बन्धी सम्झौता नहुने विश्वास दिलाएका थिए । तर यसप्रति माओवादी विश्वस्त बन्न सकेको छैन । खासगरी रक्षामन्त्री भण्डारीको सेनासँगको निकट सम्बन्धका कारण भित्रभित्रै हतियार ल्याउने खेल भएको माओवादी आशंका छ । कटवालले अघिल्लो हप्ता रक्षा मन्त्रालय पुगेर सेनाकालागि नयाँ हतियार आवस्यक भएको भन्दै रक्षामन्त्रीलाई कन्भिन्स गरेका थिए । भेटका क्रममा भण्डारीले भारत भ्रमणकाक्रममा थप हतियारकालागि आफूले प्रयास गर्ने बताएकी थिइन् ।

Add comment July 23, 2009

बुवाको पदचाप पहिल्याउँदैछिन् छोरी मानुषी

काठमाडौं – नेपाली राजनीतिमा विलक्षण प्रतिभाका राजनीतिज्ञ मानिने डा. बाबुराम भट्टराईकी छोरी मानुषी भट्टराईले पिताको पदचाप पछ्याउन थालेकी छन् ।

rato_jhilko092883

पन्चायती शासन कालमा पिता डा. भट्टराईले सम्पादन गर्ने एउटा चर्चित जर्नलको सम्पादनको जिम्मा छोरी मानुषीले लिएकी छन् ।

२०४० सालदेखि प्रकासन सुरु भएर ०४८ सम्म प्रकासित ‘नयाँ झिल्को’ जर्नल फेरि निस्कन थालेको छ । सो पत्रिकालाई यसपटक ‘रातो झिल्को’ नाम दिइएको छ । जर्नलको प्रकासक-सम्पादकपुत्री मानुषी छिन् । पुन: प्रकासनमा आएको पत्रिकाको पहिलो अंकमा ‘आजको मार्क्सबाद’ लाई प्रमुख विषय बनाइएको छ ।

माओवादीका बरिष्ठ नेता डा. भट्टराईको प्रमुख लेख रहेको आजको मार्क्सबाद उपर नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरी, सुप्रसिद्ध समाजशास्त्री प्रा.डा. चैतन्य मिश्र, खगेन्द्र प्रसाईं र झलक सुवेदी आदिले टिप्पणी गरेका छन् ।

नयाँ झिल्कोको प्रकासन डा. बाबुराम भट्टराईले २०४० सालमा थालेका थिए । भारतबाट अध्ययन सकेर नेपाल फर्केपछि उनले सुरु नयाँ झिल्को त्यो बेला निकै चर्चित मानिन्थ्यो नेपाली बुद्धिजीवीहरुमाझ । तत्कालिन नयाँ झिल्कोले विभिन्न गहन विषयमा बहस चलाएको थियो ।

डा. भट्टराई तत्कालिन नेकपा एकता केन्द्र मार्फत् जनयुद्धको तैयारीमा लागेपछि २०४८ मा यसको प्रकासन स्थगित भएको थियो । करिव १८ बर्षपछि छोरी मानुषीले त्यसको प्रकासनको जिम्मा लिएर पिताको पदचाप पछ्याएकी छन् । अहिले भने नयाँ झिल्कोको नाम परिवर्तन गरी रातो झिल्को बनाइएको छ ।

२३ बर्षे मानुषी त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियनको सचिव छन् । गत स्ववियू निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर उनी निर्वाचित भएकी हुन् । उनी राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । बौद्धिकता र क्षमताको हिसावले उनी पिता बाबुराम जस्तै लाग्छिन् ।rato_jhilko0983377

मानुषीद्धारा सम्पादित सो जर्नलको सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले संयुक्त रुपमा विमोचन गरेका थिए । उनीहरुले जर्नलले पहिलो अंकमै मार्क्सबादबारे बहस चलाएकोमा प्रसंशा गरे ।

Add comment July 23, 2009

कटवाल नेपाली नागरिक कि भारतीय ?

लेखनाथ न्यौपाने
काठमाडौं
माओवादी नेतृत्वको सरकारद्वारा बर्खास्त प्रधानसेनापति रुक्माङ्गद कटवालको समयावधि सकिनै लाग्दा भारतले फेरि म्याद थप्न लविङ सुरु गरेको छ ।

साताव्यापी भारत भ्रमणमा गएकी रक्षामन्त्री विद्या भण्डारीसँग भारतीय रक्षामन्त्री एनके एन्टोनीले मङ्गलबार भेट गरी कटवालले शान्तिप्रकि्रयामा महत्वपूर्ण भूमिका खेलेको भन्दै म्याद थप्नुपर्ने सङ्केत देखाएका छन् ।
स्रोतका अनुसार करिब ४५ मिनेटसम्म भएको छलफलमा कटवालको म्याद थप्नुपर्ने सङ्केत देखाउँदै एन्टोनीले नेपाललाई दिँदै आएको सैन्य सामग्री सुचारु गर्ने आश्वासन दिएका छन् । माघ १९ पछि बन्द भएको सैन्य सामग्री सुचारु गर्न नीतिगत सहमति भएको पनि स्रोतले बतायो । यस्तै साउथ ब्लगको परराष्ट्र मन्त्रालयमा भएको मन्त्री भण्डारीसँग मङ्गलबार नै भारतीय विदेशमन्त्री एसएम कृष्णाले भेटी सैन्य सामग्री सुचारु र कटवालको म्याद थपबारे नै छलफल भएको पनि स्रोतले बतायो । साउथ ब्लकले पहिलेदेखि नै कटवाल भारतको विश्वास पात्र भएको बताउँदै आएको थियो ।
नेपालका प्रधानसेनापति कटवाल भारतीय सेनाप्रमुख दीपक कपुरका सहपाठीसमेत भएकाले उनको आग्रहमा सेनापति कटवालको म्याद थप्न भारतले लविङ सुरु गरेको छ ।
कटवाल भारतीय सेनाप्रमुख दीपक कपुरका सहपाठीसमेत भएकाले भारतले कटवाललाई आफ्नै नागरिकसरह व्यवहार गर्दै आएको छ स्रोतले भन्यो  यसले गर्दा पनि नेपालको राष्ट्रियतामाथि भारतले धावा बोल्ने गरेको छ ।
देहरादुनमा कटवाल र कपुरले एकै पटक एनडीए कोस्र पूरा गरेका थिए । त्यसयता यी दुवै साथीका रुपमा छन् र संयोगवश अहिले दुवैजना आफ्ना मुलुकका प्रधानसेनापति बनेका छन् । भारतमा एनडीए कोस्र गरेका कटवाल भारत निकट रहेको विश्लेषण साउथ ब्लकले गर्दै आएको छ र कटवाललाई आफ्नो विश्वास पात्रका रुपमा लिने गरेको छ ।
प्रजातन्त्र र राजतन्त्रको दुई पिलर ढलेपछि भारतले माओवादी र सेनालाई आफ्नो पिलर ठान्दै आएको थियो । त्यसमध्ये पनि माओवादीले भारतीय नीतिलाई नपछ्याउने र भारत निकट मानिएका प्रधानसेनापतिलाई हटाउने निर्णय गरेपछि भारत नेपाल नीतिमा आफ्ना दुवै खम्बा ढल्ने आशंकामा छ ।
यसैले पनि कटवाललाई नहटाउन भारतबाट चर्को दबाब आएको छ ।
यो खिचातानीबाट सेनाको आडमा २०१७ साल दोहोरिने र संविधान निर्माण प्रकि्रया नै अवरुद्ध हुने खतरा छु स्रोतले अगाडि भन्यो  यसका पछाडि भारतीय गेम प्लानको आशंकासमेत हुन थालेको छ ।
भारतका विश्वास पात्र कटवाललाई अहिलेको सरकारले पनि म्याद नथप्ने बताइरहँदा उता लविङका लागि मन्त्री र प्रधानमन्त्रीलाई समेत भारतले बोलाएर म्याद थप गर्न निर्देशन दिइसकेको छ । विश्लेषकहरुका अनुसार कटवालको आडमा भारतले नेपालमा बेबी किङलाई स्थापना गर्न खोजिरहेको छ ।  यसको पुष्टि भारतीय नेताहरुले आफैं गरेका छन्ु   स्रोतले भन्यो । सेनाका आडमा राजतन्त्र बिउँझाउने खेल हुने हो कि भन्ने आशंका त्यत्तिकै छ ।
यसअघि पनि माओवादी नेतृत्वले कारबाही गर्दा भारतीय राजदूत राकेश सुदले कटवाललाई कारबाही गरे नेपालमा राजनीतिक विपत्ति आउने चेतावनी दिएका थिए

Add comment July 23, 2009

जनयुद्धका योद्धा माछापालनमा व्यस्त

- मानसिंह विक

            रोल्पा,२३ असार । शोषण, दमन, अन्याय र अत्याचारबाट मुक्ति पाउनको लागि १० वर्षीय सशस्त्रक्रान्तिमा सहभागी बनेका तत्कालीन एकीकृत नेकपा (माओवादी) कार्यकर्ताहरूमध्ये रोल्पा, कोर्चावा-५ घापाका गणसिंह पुन (डेवल) पनि एक साहसी र निडर यात्रीको रूपमा परिचित छन् ।

            उनले करिब दुइ दशकको लामो यात्रा राजनीतिमा नै बिताएका थिए । राजनीतिक जीवनमा बाध्यताले उनका सबै परिवार भूमिगत हुनुपरेको थियो । उनको घर मक्किएको र बारीमा पूरै बनमाराले ढपक्कै ढाकेको थियो । तर उनी अहिले भत्किन लागेको घर र बनमाराले ढाकेको बारीलाई दिनरात परिश्रम गरी सुन्दर तरकारी बगैँचा र माछापोखरी बनाई जीवनका हरेक कठिनाइलाई बगैँचा र माछासँग बिताउने गरिरहेका छन् ।

            उनी असली किसान बनेका छन् । फेरि आन्दोलन गर्नुपरेमा पूरै जीवन बलिदान दिने आँट पनि उनीसँग छ ।

            गणसिंह पुनको पाँच जनाको परिवार थियो । उनका एकमात्र छोरा कुतलाल पुन (किरण) बुबा आन्दोलनमा सहभागी भएको भनी उनलाई पनि धेरैपटक प्रहरी, सेनाले गिरफ्तार गर्ने योजना बनाएपछि बाध्य भएर कलिलो उमेरमा नै जनयुद्धमा होमिनु परेको थियो । विद्यार्थी सड्गठन हुँदै माओवादी जनमुक्तिसेनामा भर्ति भएका उनी करिब १९ वर्षा नै २०५९ सालमा जुम्लाको सदरमुकाम खलड्गा कब्जा गर्दा सहिद बनेका थिए ।

            उनका दुइ छोरी भने सकुशल नै छन् । जेठी छोरी तुलसी पुनलाई बुबा माओवादीमा हिँडेको कारण देखाई सदरमुकाममा लिवाङ कक्षा ८ मा अध्ययन गरी वर्ष बिदामा घर गएको बेलामा बुबाको कारणले २०५५ असारमा गिरफ्तार गरी २०५८ सालसम्म जेलमा राखेको थियो ।

            तुलसीलाई पहिले माओवादी र तत्कालीन सरकारसँगको वार्ताको समयमा छोडिएको थियो । उनी मात्र बुवासँग किसान पेसामा लागेकी छिन् । उनी पनि तरकारीखेती र माछा पालन गरिरहेकी छिन् ।

             उनकी कान्छी छोरी अरूण पुन मगरात साँस्कृतिक परिवार केन्द्रीय टोलीमा गायिकाको भूमिका निर्वाह गरिरहेकी छिन् । उनले भने कहिलेकाही घर आउँदा मात्र बुबालाई सहयोग गर्ने गर्दछिन् । गणसिंह पुनले नयाँ नेपाल बनाउनमा उनको छोराको बलिदानसमेत दिएका छन् । उनी भन्छन् ‘हाम्रो देशलाई समुन्नत बनाउनका लागि मेरो छोरालगायतका सहिदहरूले बलिदान दिएका छन्, कतै सहिदहरूको सपना पूरा हुने हो होइन भनी शड्का लागेको छ ।’

             उनले आन्दोलनको बेलामा घरबारी व्यक्तिगत जीवन त्यागेर युद्धमा सहभागी भएका थिए । पुनको घरबारीमा पहिले केही समय स्थानीय जनता र माओवादी कार्यकर्ताले बाली लगाएका थिए । तर पछि सड्कटकालमा भने घर र बारी गौचरनमा परिणत भएको थियो ।

             देशको पछिल्लो राजनीतिक घटनाक्रम र शान्तिकालीन अवस्थामा पार्टी काममा केही चाप कम परेपछि उनी घरमा आएर बस्ने योजना बनाएका थिए । उनी पहिले घर छोड्दा सानो सुन्दर घरबारी पनि पछि प्रहरी र सेनाको कारणले घर भत्किन थालेको र बनमाराले ढपक्कै ढाकेको बारीमा दिनरात परिश्रम गरी घर र बारी बनाएको स्मरण गर्दछन् । छोराको मृत्यु भएको खबरले दुःख र गर्वको अनुभूति त भयो तर छोराको चिन्ताले झन पीडा थपेको उनले बताए । त्यहीबाट आफू बिरामी भएको जानकारी गराएका थिए ।

            उनकी श्रीमती धनसरी पुनको सुरक्षाकर्मीले गरेको अमानवीय व्यवहार र छोराको चिन्ताले रोगबाट मुक्ति पाउन नसकेपछि मृत्यु भएको थियो ।

             जनतासँग सहकार्य गर्नको लागि किसान पेसामा पनि पोख्त हुनुपर्ने विचार ४८ वर्षीय पुनको छ । त्यही कुरालाई व्यवहारमा देखाउनको लागि उनी तरकारीखेती गर्दैआएका थिए । तर ढाडको रोगी उनीसँग श्रमशक्तिको अभाव भएपछि तरकारीखेती कमगरी माछापालनमा आकषिर्त बनेका छन् ।

            उनले माछा पालन गर्न एक मिटर गहिर्राई, पाँच मिटर चौडाइ र १७ मिटरको लामो दर्ुइवटा पोखरी निर्माण गर्नको लागि करिब रु. ७२ हजारको लगानी गरेका छन् । सो पोखरी निर्माण भएपछि उनले फागुनमा काठमाडौँबाट एक हजार ३०० माछा र चैतमा नेपालगन्जबाट तीन हजार माछा ल्याएर पोखरीमा हालेका थिए । माछापालनको उत्कृष्ट किसान बन्ने इच्छा भएको खुलासा गर्दै उनले माछापालनसँग नै दिनको समय निकै छिटो बितेकोमा आफँै अचम्म परेको उनले बताए ।

            उनको कामबाट त्यस गाविसका जनता प्रभावित बनेका छन् । पुनको माछापालन हर्ेन दैनिकजसो मान्छेको भीड लाग्ने गर्छन् । उनको तरकारीखेतीबाट सिकेर करेसाबारीमा तरकारीखेती गरेका कोचवाङ- ४ घापाका तुलबहादुर विकले तरकारीखेतीबाट जीवनयापन हुने बताएका छन् ।

             उनी चीनमा माओले कृषि उत्पादनमा दिएको जोड नेपालमा यतिबेला आवश्यक भएको बताउँछन् ।

            तर उनले कतिपय राजनीतिक दलहरूले आफूले पार्टी छोडेर किसान बनेको भनी गलत प्रचार गरेकोमा खेद प्रकट गर्दै पार्टी छोडेको दावी गर्नुकासाथै असली राजनीतिक कार्यकर्ताले किसान पेसा अगाल्नु पर्ने विचार राख्दछ्न ।

             रोल्पा जिल्लाका ग्रामीण भेकमा किसानहरू सैद्धान्तिक ज्ञानभन्दा व्यवहारबाटै किसान पेसा गरी रहेकोमा ती किसानहरूलाई जिल्ला कृषि विकास कार्यालय रोल्पाले योजना तर्जुमा गरिसकेको बताइएको छ ।

             उनले राजनीतिक कार्यकर्ता मात्र नभई परिश्रमी किसान बनेर गाउँलेलाई आमूल परिवर्तनको मार्ग देखाएका छन् । सबैको सहकार्यबाट मात्र गाउँ र जनताको मानसिकतामा परिवर्तन आउने उनको विचार छ ।

2 comments July 7, 2009

कर्मचारी को मिलोमतोमा राजस्व चुहावट

वीरगन्ज, २१ असार । पर्साका भन्सार कर्मचारी र व्यवसायीको मिलोमतोमा नदी तथा खोलाजन्य वस्तु निकासीमा राजस्व चुहावट भइरहेको छ ।

प्रज्ञापनपत्र धेरै भन्सार लाग्ने ठूला साइजका ढुङ्गा लुकाई भारत निकासी गर्नाले दैनिक करिब रु. दुइ लाखभन्दा बढी राजस्व  चुहावट हुने गरेको भन्सार स्रोतको दावी छ ।

यस्ता सामान निकासीमा भन्सार चुहावट हुने गरेको जानकारी वीरगन्ज भन्सार कार्यालयलाई भए पनि चुहावट नियन्त्रण तर्फ कुनै ठोस र प्रभावकारी कदम चालिएको छैन ।

 राजस्व चुहावट नियन्त्रण गर्ने जिम्मा पाएका भन्सार कार्यालय, राजस्व गस्ती, प्रहरी प्रशासन र राजस्व अनुसन्धान कार्यालयलगायतका जिम्मेवार निकायसमेत यसबारे मौन छन् ।

 चौध घनमिटरसम्म बोकेका टिपरको ११ घनमिटर र १७ घनमिटर बोकेका ठूलो ट्रकको १२ देखि १३ घनमिटर सामान बोकेको प्रज्ञापन पत्रमा देखाइने गरेको छ । बालुवा र मिस्कट प्रति घनमिटर रु. ९० , साढे दुइ इन्च साइजसम्मका गिटी र ढुङ्गा निकासीमा प्रतिघन मिटर रु. १०० र त्यसभन्दा ठूला साइज निकासीमा रु.३५० भन्सार शुल्क लाग्ने गरेको छ । तर निकासीकर्ताले भन्सार कर्मचारीको मिलोमतोमा प्रति घनमिटर रु.३५० लाग्ने ठूला ढुङ्गा पनि बालुवा र मिस्कटकै दरमा निकासी गर्दै आएको आरोप क्रसर उद्योगीहरूको छ ।

भन्सार तिरेको भन्दा फरक किसिमको गिटी र ढुङ्गा फेला परेपछि राजस्व चुहावट गरेको अभियोगमा भन्सार राजस्व गस्ती टोलीले यही असार १२ गते १० वटा टिपरलाई आवश्यक कानुनी कारबाहीका लागि पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाएको घटनाले समेत नदी तथा खोलाजन्य वस्तु निकासी गर्दा ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको पुष्टि हुन्छ ।

साढे पाँच सिएफटी ढुवानी गर्ने क्षमता भएका टिपरमा झन्डै दुइ फीट बढाएर साढे सात सिएफटी गिटी र ढुङ्गा ढुवानी गर्दै आइएको छ । जसले गर्दा सडक विभागले तोकेको मापदण्डविपरीत बढी भार भई सड्क ब्रि्रने गरेका छन् ।

तर उनीहरूले साढे पाँच सिएफटी को भन्सार तिर्ने गरेका छन् । त्यसमा पनि प्रति घनमिटर रु. ३५० लाग्ने ठूला ढुङ्गा पनि बालुवा र मिस्कटकै दरमा निकासी गर्दै आइएको छ ।

पर्साबाट दैनिक डेढ सयभन्दा बढी टिपर र ट्रक यस्ता नदी तथा खोलाजन्य वस्तु निकासी गर्ने कार्यमा संलग्न छन् । कतिपय टिपरहरू त रोडपरमिट, नवीकरण र जाँचपाससमेत नगर्राई गैरकानुनी रूपमा सञ्चालनमा आउने गरेको आरोप व्यवसायीको छ ।

बढ्दै गएको त्यस्ता ट्रक र टिपरका कारण वीरगन्ज रक्सौल सीमा क्षेत्रमा सधैँजसो बाटो अवरुद्ध हुने, दुर्घटनाको सम्भावना अत्यधिक हुने र बढी भारका कारण बाटोको अवस्था नाजुक हुदै जाने भएपछि सिमावर्ती सहर रक्सौलका नागरिक समाज, त्यहाँका भन्सार र स्थानीय प्रहरी प्रशासनको र्सवपक्षीय भेलाले रक्सौलमा बिहान ५ः३० बजेदेखि १० बजेसम्म र बेलुकी ८ः३० देखि १० बजेसम्म दैनिक चार घण्टा गिटी र ढुङ्गा बोकेका त्यस्ता ट्रक र टिपरको ढुवानी गर्ने अनुमति दिएको बताइएको छ ।

Add comment July 6, 2009

गिरिजाले मन्त्रीहरूलाई के निर्देशन दिए ?

काठमाडौं । अमेरिकी राजदूत न्यान्सी जे पावेलसँग भेट गरेलगत्तै पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कठपुतली सरकारका प्रधानमन्त्री माधवकुमार नेपाललगायत एमाले कांग्रेसका तर्फाट मन्त्रिपरिषद्मा सम्मिलितहरूलाई आफ्नै निवासमा बोलाएर निर्देशन दिएको खुलासा भएको छ । 

माधव नेपालको नेतृत्वमा गठन भएको सरकारले कुनै गति लिन नसकेको चरम असन्तुष्टीसमेत कोइरालाले पोखेको निकटवर्ती स्रोतले बताएको छ । प्रधानमन्त्री माधवकुमार नेपालसँग मात्र भेटघाट गर्ने पुर्वनिर्धारित कार्यक्रम संशोधन गरी कोइरालाले कांग्रेस र एमालेका तर्फाट मन्त्री बनेका सबैलाई आफ्नै निवासमा आउन उर्दी जारी गरेका थिए । गिरिजाको उर्दीअनुरुप असार १७ गते बिहान ९ः३० बजे मन्त्रीहरू कोइराला निवास पुगेका थिए । मन्त्रीहरू पुग्नुभन्दा केही समय अगाडि एमाले अध्यक्ष झलनाथ खनाल कोइराला निवास पुगेका थिए । नेपालका लागि अमेरिकी राजदूत न्यान्सी जे पावेलसँग भेट गरेलगत्तै मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर निर्देशन दिनुलाई अर्थपुर्णा रूपमा लिइएको छ ।

अमेरिकी योजनाअनुरूप मन्त्रिपरिषद्लाई परिचालन गराउनका लागि कोइरालाले निर्देशन दिएको आशंका कतिपय सहभागीहरूले दिएको निकटवर्ती सूत्रको भनाइ छ । गिरिजाप्रसाद कोइरालाले मन्त्रिपरिषद् र स्वयं प्रधानमन्त्री माधवकुमार नेपालले परिस्थितिको सामना गरी अगाडि बढ्न आँट नगरेको समेत चिन्ता प्रकट गरेका थिए ।

जनतामा वर्तमान मन्त्रिपरिषद् गठनका बारेमा नकारात्मक घृणा पैदा भएको अवस्थामा मन्त्रिपरिषद्ले जनमुखी कार्यद्वारा नकारात्मक धारणा हटाउनमा भूमिका निर्बाह गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै मन्त्रीहरूको कोइरालाले खुलेर आलोचना गरेको सूत्रले दाबी गरेको छ । यस्तै अवस्था रहेमा सकारको स्थायित्व नहुने कोइरालाको कथन थियो । माओवादी र एमालेबीचको सम्बन्ध स्पष्ट पार्न कोइरालाले एमाले अध्यक्ष झलनाथ खनाल तथा माधवकुमार नेपालसँग आग्रह गरेका थिए ।

कांग्रेसलाई वाइपास गरी माओवादीसँग कुनै सहमति कायम गरेमा यसलाई कुनै हालतमा स्वीकार्न नसकिने कोइरालाको भनाइ थियो । कोइरालाले माओवादीलाई फकाउने र तर्साउने दुवै खालका नीति अलवम्बन गर्न एमाले र मन्त्रिपरिषद्लाई निर्देशन दिएका थिए ।

आफूले पनि माओवादीसित डिल गर्दा त्यस्तै नीति अख्तियार गर्ने कोइरालाको भनाइ थियो । माओवादीलाई फकाएर सरकारमा सामेल गराउन सके सरकारले स्थायित्व पाउने कुरा कोइरालाले बताएका थिए । फकाउने काममा असफल भएमा माओवादीको सम्बन्ध लिट्टे, भारतका माओवादी र कम्पोसासँग रहेको कारण आतंककारीको सूचीमा राख्न सकिने भनी माओवादीलाई तर्साउनु पर्ने टिप्पणी कोइरालाले गरेका थिए । सोही दिन आयोजित संसद् दिवसको अवसरमा माओवादी सरकारमा आएमा आफ्नो पार्टी मन्त्रिपरिषद्मा केही सिट त्याग गर्न तयार भएको भनी प्रधानमन्त्री माधवकुमार नेपालले कोइरालाको निर्देशनअनुरुप नै व्यक्त गरेका हुन् । सरकारलाई स्थायित्व प्रदान गर्नका लागि सुजाता कोइरालालाई सरकारमा सामेल गराउनु आवश्यक भएको तर्क दिन पुगेका गिरिजा कोइराला मन्त्रिपरिषद्को काम गराइका कारण सरकारको स्थायित्व हुन नसक्ने निर्णयमा पुगेपछि निर्देशन दिने काममा जुटेको पार्टी सुत्रले बताएको छ ।

भनिन्छ, अमेरिकालगायत पश्चिमा राष्ट्रहरू वर्तमान सरकारको काम गराइप्रति त्यति सन्तुष्ट हुन सकेका छैनन् । सरकारको लोसेपनाका कारण आफ्नो स्वार्थ पूरा हुन सक्ला भन्ने बारेमा अमेरिकाले समेत आशंका व्यक्त गरेको छ । त्यही कारणले गर्दा नै अमेरिकी राजदूतले आफ्नो योजनाअनुरुप सरकारलाई संचालन गर्न लगाउन गिरिजा कोइरालासँग गुहार माग्न पुगेको हो । हुन त पावेल-कोइराला भेटलाई कार्यकाल पूरा गरी अमेरिका फर्किन लागेको सर्न्दर्भमा भएको भनी प्रचार गरिएको छ । यद्यपि राजनीतिक पर्यवेक्षकले उक्त भेटलाई राजनीतिक महत्वको भनी ठोकुवा गरेका छन् । उता असार १५ गते ४ बजे राष्ट्रपति डा. रामवरण यादवसँग भारतीय गुप्तचर संस्था ‘रअ’ का नेपाल प्रमुख आलोक जोसीले भेटघाट गरेका छन् । सो भेटलाई गोप्य राखिएको छ । राष्ट्रपति जस्तो गरिमामय पदमा आसिन व्यक्तिले विदेशी गुप्तचर संस्थासँग आवद्ध व्यक्तिलाई भेट्नुलाई जानकार पक्षले आर्श्चर्यको रूपमा लिएको छ ।

गुप्तचर संस्थामा आवद्ध व्यक्तिको सक्रियता षड्यन्त्रपूर्ण कामका लागि हुने सर्न्दर्भमा राष्ट्रपति र जोसीको भेटलाई लिनुपर्ने भएको छ । रुकमांगद प्रकरणदेखि नै डा. रामवरण विवादित व्यक्ति बन्न पुगेका छन् ।

Add comment July 6, 2009

सङ्घीयताको लागी बहस सम्पन्न

इटहरी, १८ असार । पुर्वी नेपालमा आत्म   निर्णयका  अधिकारसहित सङ्घीय राज्यको मुद्दालाई लिएर आन्दोलनरत विभिन्न जातीय सङ्गठनबीच धरानमा बृहत् छलफल भएको छ ।

बीस वटाभन्दा बढी जातीय राज्यको माग गरेर आन्दोलनरत ती समूहबीच सङ्घीय राज्यको अवधारणासम्बन्धी आ-आफ्ना पार्टीले  अघि सारेका नीतिगत विषयमा व्यापक छलफल भएको थियो ।

               संविधान निर्माणका लागि नागरिक समाज काठमाडौँ र मानवाधिकार मञ्च नेपालले आयोजना गरेको बृहत् भेलाले जातीय ऐतिहासिक प्रमाण एवम् पृष्ठभूमि र जातीय आधार तथा जनसङ्ख्यालाई आधार मानेर राज्यको पुनसंरचना गरिनुपर्ने निक्र्यौल निकालिएको छ ।

               सङ्घीय संरचनाको निर्माण सम्बन्धमा कस्तो नीतिको खाँचो रहेको छ र त्यसमा कस्ता आधारहरूलाई अपनाएर राज्यको पुनःसंरचना गर्दा सबै समूहलाई उपयुक्त एवम् चित्त बुझदो निष्कर्षनिक्लन्छ भन्ने विषयमा सबैको राय बुझनु भेलाको मुख्य उद्देश्य रहेको थियो ।

गोप्यरूपमा आयोजना गरिएको सो भेलाले पुर्वी नेपालमा सङ्घीय स्वायत्त राज्यको माग गर्दै आन्दोलनरत सबैलाई एउटै टेबलमा राखेर विचार मन्थन गर्ने अवसर प्रदान गरिएको थियो ।

सो भेलामा लिम्बुवान, खम्बुवान, कोचलगायतको सहभागिता रहेको थियो ।

               विभिन्न सङ्घीय राज्यको माग गर्दै आएकाहरूले देशको मूल संविधानमा आइएलओ १६९ ले दिएको अधिकारलाई सुनिश्चित गर्नुपर्ने कुरालाई विशेषरूपमा उठाएको छ । राज्य र केन्द्र सरकारबीच अधिकार बाँडफाँड गर्दा रक्षा, परराष्ट्र नीति, मुद्राको अधिकार केन्द्रमा राखिनुपर्ने, ठूला जलविद्युत्, राष्ट्रिय राजमार्ग, सञ्चार, हवाई सेवाजस्ता सेवाहरू केन्द्र र राज्य दुवैको मातहतमा राखिनुपर्ने कुरामा भेलाले जोड दिएको छ ।

कोच मोर्चाले माग गरेको कोच प्रदेश, रोङ सेजम ठीले प्रस्ताव गरेको रोङ राज्य र लिम्बुवान राज्य एउटै भुगोलमा परेको, खम्बुवान सङ्गठनले प्रस्ताव गरेको खम्बुवान राज्यको धनकुटा, सङ्खुवासभालगायतका जिल्ला लिम्बुवानमा पर्न गएको जस्ता कुरालाई कसरी मिलाउने भन्ने विषयमा पनि बृहत् छलफल भएको थियो ।

               सङ्घीय राज्यका विषयमा उठेका साझा सवाललाई एकीकृतरूपमा अघि बढाउने उद्देश्यले आयोजना गरिएको सो भेलाले कतिपय त्यस्ता मुद्दालाई आपसी समझदारीमा बसेर मिलाउने कुराको पनि टुङ्गो लगाएको छ ।

               भेलामा जनजाति महाङ्घका केन्द्रीय अध्यक्ष पासाङ शेर्पा, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, मानवाधिकारकर्मी सुशील प्याकुरेल तथा अरु जातीय सङ्घसंस्थाका वरिष्ठ नेताहरू सहभागी हुनुहुन्थ्यो ।

उहाँहरूले जातीय सवालमा उठेका जल्दाबल्दा विषयमा सहजीकरण गर्नुका साथै त्यस्ता विवादस्पद विषयमा विकल्पहरू प्रस्तुत गरेर समस्याका समाधान पत्तालगाउने कार्य गर्नुभएको थियो ।

               मानवाधिकार मञ्च नेपालका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा भएको सो भेलामा इन्सेक पुर्वाञ्चलका संयोजक सोमराज थापा, किरात याक्थुङ चुम्लुङका अध्यक्ष अर्जुन नुगोलगायतले राज्य पुनःसंरचनासम्बन्धी वस्तुगत समस्याका विषयमा आ- आफ्नो धारणा राख्नुभएको थियो ।

Add comment July 6, 2009

PDF2Word Online: Convert PDF to Word for Free

Add comment June 30, 2009

प्रधानमन्त्रीको झाँको झारियो

काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपाललाई उनकै सभासदहरुले झाँको झारेका छन् । बिहानैदेखि एमाले संसदीय दलको कार्यालयमा जारी संसदीय दलको बैठकमा उपस्थित प्रधानमन्त्रीलाई सभासदहरुले उनको कार्यशैलीप्रति व्यंग्य गर्दै झाँको झारेका हुन् ।

सभासदहरुले प्रधानमन्त्री र सरकार सेनाको कठपुतली बनेको र द्वन्द्व बढाउनतर्फ उन्मुख रहेको आरोप लगाएका थिए । त्यसैगरी उनीहरुले हरुवाहरुको भिड जम्मा गरेर सरकार निर्माण गर्दा जनतामा नराम्रो संकेत गएको र यसले पार्टीको छवि विगारेको आरोप लगाएका थिए ।

त्यसैगरी सभासदहरुले आफ्नै नेतृत्वको सरकार हुँदासमेत पार्टीका कार्यकर्ताहरु ठाउँठाउँमा कुटिँदा सरकार लाचार र मुकदर्शक बनेको आरोप लगाउँदै जसका कारण कार्यकर्तातहमा पलायन सुरु भएको भन्दै आपत्ति प्रकट गरेका थिए । उनीहरुले सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमलाई बैद्य ठहर् याएर सरकारले ठूलो गल्ती गरेको आरोपसमेत लगाएका थिए । केही दिनदेखि एमाले सरकारमा पुगेपछि एमाले सभासदहरु दुई खेमामा स्पष्टरुपमा बाँडिएका छन् । एक खेमा प्रधानमन्त्रीलाई लज्जित बनाउनतर्फ लागेको छ भने अर्को खेमा प्रधानमन्त्रीको बचाउ गर्दै अध्यक्ष खनालको झाँको झार्न बढी लागेको छ । आजको जारी बैठकमा पनि प्रधानमन्त्री पक्षधर सभासदहरुले अध्यक्ष खनाल समूहले सरकारले पूर्णता नपाउँदै असहयोग गरेर सरकार गिराउनतर्फ लागेको र माओवादीको पक्षपोषण गरेको दावी गर्दै आएका छन् ।

Add comment June 19, 2009

र्सवदलीय टोलीद्वारा प्रतिवेदन र्सार्वजनिक

दाङ -देउखुरी), ४ असार । भारतसँग सीमा जोडिएका नाकाहरुको अनुगमनका लागि दाङबाट गएको र्सवदलीय टोलीले भारतीय पक्षले नेपाल र नेपालीमाथि निरन्तर रुपमा ज्यादती र सीमा अतिक्रमण गरिरहेको निष्कर्षनिकालेको छ ।

               टोलीले आज बिहान दाङको घोराहीमा अनुगमन प्रतिवेदन र्सार्वजनिक गर्दै पुराना तथ्यको अध्ययन गर्दै जाँदा नेपालको सीमा हाल  नेपालीहरुले भोगचलन गर्दैआएको सिमाना भन्दा झण्डै ८/१० किलोमिटर दक्षिण हुनसक्ने अनुमान लगाएको छ ।

               सीमाक्षेत्रका गाउँहरुमा शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभुत आवश्यकताको कहाली लाग्दो अवस्था रहेको, सीमाक्षेत्रमा एउटा पनि जङ्गेपिलर नभएको, भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीहरुले वर्षौदेखि भोगचलन गदै आएको जमिन भारतको हो भनी पटकपटक माथितिर र्सार्न लगाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

               त्यसैगरी टोलीले नेपालीहरुले धेरै समयपहिलेदेखि जग्गाको भोगचलन गर्दै आएको भएपनि लालपर्ुजा नभएको, सरकारी सेवा सुविधामा नाकावासीको पहुँच नभएको, नाकाक्षेत्रमा चेलीबेटीहरुमाथि हातपात तथा बलात्कार गर्ने र बलात्कारपछि हत्या गरिएका दर्जनौँ घटना सीमाक्षेत्रमा भेटिएको जनाएको छ ।

Add comment June 18, 2009

Previous Posts


अडियो मिडियाहरु

अनलाइन न्युजहरु

पत्रपत्रिका

प्रगतिशील वेभसाइटहरु

रमाइला साइटहरु

Meta

Recent Posts

Tags

Alkhore nptwf

वर्गीकरण

Recent Comments

Top Clicks

Top Posts

Flickr Photos

1244518919

More Photos

Authors

हेर्न रहर गर्नेहरु

शुभकामना

एकिकृत नेकपा माओवादीले तयार पारेको नयाँ सविधानको अवधारणा पत्र

जनदिशा साप्ताहिक युरोप संस्करण

Archives

वि.सं. २०६६ सालको भित्तेपात्रो

Watch videos at Vodpod and other videos from this collection.

हाम्रो बारेमा