बुवाको पदचाप पहिल्याउँदैछिन् छोरी मानुषी
July 23, 2009
काठमाडौं – नेपाली राजनीतिमा विलक्षण प्रतिभाका राजनीतिज्ञ मानिने डा. बाबुराम भट्टराईकी छोरी मानुषी भट्टराईले पिताको पदचाप पछ्याउन थालेकी छन् ।

पन्चायती शासन कालमा पिता डा. भट्टराईले सम्पादन गर्ने एउटा चर्चित जर्नलको सम्पादनको जिम्मा छोरी मानुषीले लिएकी छन् ।
२०४० सालदेखि प्रकासन सुरु भएर ०४८ सम्म प्रकासित ‘नयाँ झिल्को’ जर्नल फेरि निस्कन थालेको छ । सो पत्रिकालाई यसपटक ‘रातो झिल्को’ नाम दिइएको छ । जर्नलको प्रकासक-सम्पादकपुत्री मानुषी छिन् । पुन: प्रकासनमा आएको पत्रिकाको पहिलो अंकमा ‘आजको मार्क्सबाद’ लाई प्रमुख विषय बनाइएको छ ।
माओवादीका बरिष्ठ नेता डा. भट्टराईको प्रमुख लेख रहेको आजको मार्क्सबाद उपर नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरी, सुप्रसिद्ध समाजशास्त्री प्रा.डा. चैतन्य मिश्र, खगेन्द्र प्रसाईं र झलक सुवेदी आदिले टिप्पणी गरेका छन् ।
नयाँ झिल्कोको प्रकासन डा. बाबुराम भट्टराईले २०४० सालमा थालेका थिए । भारतबाट अध्ययन सकेर नेपाल फर्केपछि उनले सुरु नयाँ झिल्को त्यो बेला निकै चर्चित मानिन्थ्यो नेपाली बुद्धिजीवीहरुमाझ । तत्कालिन नयाँ झिल्कोले विभिन्न गहन विषयमा बहस चलाएको थियो ।
डा. भट्टराई तत्कालिन नेकपा एकता केन्द्र मार्फत् जनयुद्धको तैयारीमा लागेपछि २०४८ मा यसको प्रकासन स्थगित भएको थियो । करिव १८ बर्षपछि छोरी मानुषीले त्यसको प्रकासनको जिम्मा लिएर पिताको पदचाप पछ्याएकी छन् । अहिले भने नयाँ झिल्कोको नाम परिवर्तन गरी रातो झिल्को बनाइएको छ ।
२३ बर्षे मानुषी त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियनको सचिव छन् । गत स्ववियू निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर उनी निर्वाचित भएकी हुन् । उनी राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । बौद्धिकता र क्षमताको हिसावले उनी पिता बाबुराम जस्तै लाग्छिन् ।
मानुषीद्धारा सम्पादित सो जर्नलको सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले संयुक्त रुपमा विमोचन गरेका थिए । उनीहरुले जर्नलले पहिलो अंकमै मार्क्सबादबारे बहस चलाएकोमा प्रसंशा गरे ।
Entry Filed under: समाचार. .



Trackback this post | Subscribe to the comments via RSS Feed